धार्मिक‚ जातीय समूह/पक्षबीच पछिल्लो समय देखापरेको असमझदारी तथा विवाद

धार्मिक जातीय समूह पक्षबीच आ-आफ्नो धर्म संस्कृति र परम्पराको विषयलाई लिएर पछिल्लो समय मुलुकमा विशेष गरी तराई/मधेशका जिल्लाहरुमा असमझदारी र विद्वेषका घटनामा बढोत्तरी हुँदैगएको पाइन्छ । यसैबीच गत असारमा धरान उपमहानगरपालिका-१४ स्थित विजयपुर क्षेत्रमा रहेको वालगोपाल मन्दिर अगाडि चर्च बनेको विषयमा हिन्दूवादी समूह र क्रिश्चियन धर्मावलम्बीबीच सुरु भएको तिक्तता‚ आरोप प्रत्यारोपले धरान क्षेत्रमा दुई धार्मिक समूहबीच उत्पन्न विद्वेषको घटना सेलाउन नपाउदै आदिवासी जनजाति समुदायले गोरु काटेर खान पाउनुपर्ने भन्दै स्थानीय प्रशासनलाई दवाव दिन भनि नेपाल आदिवासी जनजाति महासंघ धरान समन्वय समितिको अगुवाइमा गत साउन ३० गते धरानमा गोरु काटेर सामुहिक भोज खाएको भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेपछि सोको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत विभिन्न हिन्दूवादी संघ/संस्था‚ पक्षधर समूहले काठमाण्डौ उपत्यका लगायत मोफसलका अधिकांश जिल्लामा हिन्दू धर्मको रक्षा‚ गौहत्यमा रोक‚ संलग्नलाई कारवाही लगायतका माग/मुद्दा उठान गरी विरोध र्‍याली प्रदर्शन‚ कोण सभा‚ मसाल जुलुस प्रदर्शन समेतका विरोधजन्य गतिविधि गर्दैआएका छन् ।

  • यसैबीच गौहत्याको विरोधमा विभिन्न धार्मिक समूह‚ संघ‚ संगठनहरुले देशका विभिन्न जिल्लाहरुमा विरोधजन्य गतिविधि गर्दैआइरहेको परिप्रेक्ष्यमा पछिल्लो समय झापाको भद्रपुर‚ मोरङको पथरी शनिस्चरे र खोटाङमा गोरु काटेर खाएको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै मूलवासी मंगोलहरुले सांस्कृतिक विद्रोह स्वरुप गोरु काटेर खाएको भनि केही पहिचानवादी समूहले धार्मिक सद्‌भावलाई भडकाएर थप उत्तेजित बनाउने प्रयास गरेको पाइन्छ । हिन्दू धर्मावलम्बीहरुलाई उत्तेजित बनाउने यस प्रकारका भिडियो‚ टिका टिप्पणी सामाजिक सञ्जाल मार्फत सार्वजनिक हुन थालेपछि हिन्दूवादी समूह/पक्षधरले हिन्दू धर्ममाथिको चौतर्फी अतिक्रमण बन्द गरिनुपर्ने समेतका विषय उठान गरी मुलुकमा विभिन्न जिल्लाहरुमा विरोध प्रदर्शन सहित हिन्दू पक्षधरको एकतालाई कसिलो बनाउने तर्फ उन्मुख भइरहेका छन् ।

हिन्दू धर्मको संरक्षणका लागि पछिल्लो समय सक्रिय देखिएका पार्टी तथा हिन्दूवादी समूहः

  • राष्ट्रिय प्रजातन्त्र पार्टी‚ (अध्यक्ष राजेन्द्र लिङदेन)
    • राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल‚ (अध्यक्ष कमल थापा)
    • विश्व हिन्दू महासंघ‚ (अध्यक्ष रामचन्द्र अधिकारी)
    • हिन्दू सम्राट सेना नेपाल‚ (अध्यक्ष राजेस यादव)
    • शिव सेना‚ (अध्यक्ष सुनिल बस्नेत)
    • जगतगुरु बालसन्त मोहनशरण देवको समूह‚
    • मोरङको वृद्धावन गौशालाका संरक्षक श्री महामण्डलेश्वर १०८ महराज दिनवन्दु शास्त्री र कैलालीको लक्ष्मी नारायण मन्दिरका पिठाधिस १००८ स्वामी देवराज आचार्य समेतको समूह‚
    •  हिन्दू परिषद नेपाल‚ (अध्यक्ष सन्तोष पट्टेल)
    • हिन्दू स्वंयसेवक संघ नेपाल‚  (अध्यक्ष हेम शर्मा आचार्य)
    • वैदिक सनातन धर्म संरक्षण समिति‚ (अध्यक्ष दोर्ण सुवेदी)
    • विश्व हिन्दू परिषद नेपाल‚ (अध्यक्ष टिका पहारी)
    • विर गोर्खाली अभियान‚ (अध्यक्ष सन्तोष राजावादी)
    • गौ संरक्षण मञ्च (अध्यक्ष जगदिश महासेठ) लगायतका स्थानीय स्तरमा गठीत  विभिन्न हिन्दूवादी धार्मिक समूहहरु ।
    • अर्कोतर्फ मधेश प्रदेशका विभिन्न जिल्लाहरुमा पछिल्लो समय स्थानीय हिन्दू र मुस्लिम धर्मावलम्बीहरुले धार्मिक कट्टरतालाई प्रश्रय दिई आ-आफ्नो चाडपर्वको दौरान गर्ने धार्मिक एवं सांस्कृतिक कार्यक्रमको क्रममा एक पक्षले अर्को पक्षलाई धार्मिक भावनामा चोट पुग्ने गरी कार्यक्रम गरेको आरोप लगाउँदै वादविवाद गर्ने झडपमा उतारु भई धार्मिक सद्‍भावमा खलल पुर्‍याउने प्रवृत्तिमा बढोत्तरी हुँदै गएको पाइन्छ ।
    • यसैक्रममा भदौ २२ गते सर्लाहीको मलंगवामा श्री कृष्ण जन्माष्टमीका लागि बनाइएको कृष्णको मूर्ति विसर्जन गर्नका लागि हिन्दूवादी समूहले धार्मिक र्‍यालीको रुपमा लैजाने क्रममा दुई समूहबीच भएको झडपले दुई दिनसम्म उग्ररुप लिएको थियो । परिस्थिति जटिलतर्फ उन्मुख भएपछि स्थानीय प्रशासनले मलंगवा क्षेत्रमा भदौ २३ गतेबाट २४ गतेसम्म कर्फ्यु आदेश र भदौ २७ गतेसम्म उक्त क्षेत्रमा भेला, जुलुस प्रदर्शनमा रोक लगाउँदै निषेधाज्ञा जारी गरी थप मुठभेड हुनबाट रोकेको थियो ।
    • उल्लेखित असमझदारीबाट सृजित घटना सेलाउन नपाउँदै असोज ४ गते सोही जिल्लाको मलंगवामा करिब ५ सय हिन्दू धर्मावलम्बीहरुको सहभागितामा गणेशको मूर्ति विसर्जन गर्न लैजाने क्रममा मुस्लिम समुदायले र्‍यालीका सहभागीमाथि आक्रमण गरेको भन्ने विषयलाई लिएर हिन्दूवादी समूह मुस्लिम समुदायका घर पसलमा प्रदर्शन, तोडफोड, आगजनीमा उत्रिएपश्चात स्थानीय प्रशासनले सोही दिनबाट स्थिति नियन्त्रणमा नआएसम्म कर्फ्यु आदेश जारी गरी दुई पक्षबीच हुन सक्ने थप झडप र हिंसालाई रोकेको थियो ।
    • यसैगरी बाँकेमा फेसबुक पेजबाट मुस्लिम समुदायलाई लक्षित गरी अभद्र टिप्पणी गरेको विषयलाई लिएर सो समुदायका व्यक्तिहरुले संलग्नलाई कारवाहीको माग राख्दै स्थानीय प्रशासनमा ज्ञापनपत्र बुझाएपछि शिवसेना नेपाल, हिन्दू समाज, ॐ कार परिषद समेतका हिन्दूवादी समूह आक्रोशित भई असोज १६ गते प्रतिकारात्मक प्रदर्शनमा उतारु हुँदा दुई समूहबीच झडप भएको र दुवै पक्षले हातहतियार सहित एक अर्को पक्षलाई काउण्टर दिएर विरोध, र्‍याली  र प्रदर्शन गर्दा परिस्थिति जटिल बनेको थियो  ।

धार्मिक समूहहरुले आ-आफ्नो अस्तित्व रक्षाका लागि पछिल्लो समय अवलम्बन गरेका रणनीति:

  • यस प्रकार आ-आफ्नो धर्म‚ संस्कृति‚ परम्पराका विषयमा हिन्दू-मुस्लिम दुवै पक्षले एक अर्काका विरुद्ध वदलाभाव लिने‚ एक अर्काको सांस्कृतिक र सामाजिक भावनामा चोट पुग्ने गरी टिप्पणी तथा गतिविधि गर्दै धार्मिक सांस्कृतिक र सामाजिक भावनामा चोट पुग्ने किसिमका गतिविधि गर्ने प्रवृतीमा वढोत्तरी हुदैंगइरहेको परिप्रेक्ष्यमा असोज १९ गते बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-४ घोसीटोलस्थित गौशिया मस्जिदमा मौलाना समिउल्लाह खाँ समेत ३०/३५ जना मुस्लिम समुदायका युवाहरुको उपस्थितिमा बसेको बैठकले बडवउ खाँ‚ सलमान खाँ समेत २२ जना युवाहरु सम्मिलित इस्लामी लश्कर नामको संगठन खडा गरी आगामी दिनमा हुन सक्ने झडप‚ प्रर्दशन लगायतका गतिविधिमा युवाहरुलाई परिचालन गर्न स्थान विशेष जिम्मेवारी समेत तोकेको छ ।
    • यसैबीच हिन्दू धर्ममाथिको चौतर्फी अतिक्रमण बढ्दै गएकोले त्यसलाई रोक्नु पर्ने भन्दै हिन्दू धर्मको संरक्षणका लागि विभिन्न हिन्दुवादी समूहले मुलुकका विभिन्न स्थानमा र्‍याली‚ प्रदर्शन‚ कोणसभा‚ ज्ञापनपत्र प्रस्तुत समेतका गतिविधिलाई बढ्वा दिदैंआइरहेको सन्दर्भमा पछिल्लो समय भारतको कट्टर हिन्दूवादी संगठन राष्ट्रिय स्वयंसेवक संघको समानान्तर संगठनको रुपमा रहेको हिन्दू स्वयंसेवक संघ नेपालले विशेष गरी तराई मधेशका जिल्लाहरुमा प्राथमिक शिक्षा वर्गको नामबाट युवा/विद्यार्थीहरुलाई हिन्दू धर्म सम्बन्धी विषयमा केन्द्रित रहेर साताव्यापी आवाशीय प्रशिक्षण दिदैंआइरहेको छ ।
    • युवा विद्यार्थीलाई शारीरिक अभ्यास समेतका विषयमा प्रशिक्षण गर्न भनि गत असोज २५ गतेबाट विभिन्न जिल्लाहरुमा संचालन गर्दैआएको यस प्रकारको प्रशिक्षण कार्यक्रम मोरङ‚ सुनसरी‚ सिरहा‚ सप्तरी‚ रुपन्देही‚ कपिलवस्तु‚ कञ्चनपुर, सिन्धुली लगायतका जिल्लाहरुमा सम्पन्न गर्नुका साथै दाङ जिल्लामा सोही प्रकारको कार्यक्रम प्रारम्भ गरेको छ भने विश्व हिन्दू परिषद‚ हिन्दू सम्राट सेना‚ राष्ट्रिय एकता अभियान लगायतले युवाहरुलाई संगठित तुल्याउने लक्ष्यका साथ तराई मधेशका जिल्लाहरुमा संगठन विस्तार‚ प्रचार-प्रसार‚ भेला‚ प्रदर्शनलाई तिव्रता दिदैंआएका छन् ।
    • अर्कोतर्फ हिन्दू र इसाई धर्मावलम्बीबीच सुनसरीको धरानबाट देखा परेको असमझदारी एवं विद्वेषको प्रभाव पछिल्लो समय बर्दिया‚ नवलपरासी(पश्चिम)‚ कपिलवस्तु‚ रुपन्देही सहित मधेश प्रदेशको धनुषा‚ सप्तरीसम्म पुगी हिन्दूवादी समूह(विशेष गरी युवा समूह)ले इसाई धर्मावलम्बीहरुको प्रचार-प्रसार‚ भेला प्रशिक्षण समेतका गतिविधिमा रोक लगाउने‚ प्रचार-प्रसारमा हिडेका व्यक्तिहरुमाथि मोसो दल्ने लगायतका दुर्व्यवहार गर्ने गरेको पाइएकाले यी दुई धर्मावलम्बीहरुबीच धार्मिक असहिष्णुता बढ्दै जाने देखिन्छ ।

विश्लेषणः

  • हिन्दू धर्मावलम्बीहरुले हिन्दू धर्म माथि अतिक्रमण भैरहेको, धर्मान्तरण गराउने कार्यमा बढोत्तरी भएको जनाउँदै यसलाई रोक्नुपर्ने भनि विरोधजन्य गतिविधिमा उतारु हुँदै युवा वर्गलाई संगठित र प्रशिक्षित गरिदै लैजानु, क्रिश्चियन धर्मावलम्बीहरुले इसाई धर्मको प्रचारप्रसार गरी धर्मान्तरण गराउन अभिप्रेरित गर्ने, चर्च, मण्डलीको संख्यामा वृद्धि गराउदै लैजाने कार्यलाई निरन्तरता दिनु र इस्लाम धर्मावलम्बीहरुले विदेशी मौलाना, जमात टोलीद्वारा प्रशिक्षित गराउँदै मुस्लिम वस्तीहरुमा मस्जिद, मदरसाहरुको संख्या उल्लेख्य वृद्धि गरिनु‚ युवा सम्मेलित इस्लामिक लश्कर नामक संगठन खडा गरी प्रदर्शन र झडपका क्रममा प्रयोग गर्ने रणनीति अगाल्नुले  मुलुकमा पछिल्लो समय धार्मिक क्षेत्रका गतिविधि थप पेचिलो बन्दै गएको देखिन्छ ।
    • जातीय एवं धार्मिक समूहहरुबीच उत्पन्न भइरहेको अन्तरविरोध र तिक्तताले परिस्थिति धार्मिक एवं जातीय हिंसामा परिणत भई धार्मिक स्थलहरु तोडफोड, एक अर्को पक्षबीच आक्रमणको अवस्था सृजना भई परिस्थिति शान्ति सुरक्षामा खलल पुग्न सक्ने तर्फ सतर्कता अपनाउनुपर्ने, अल्पसंख्यक रुपमा रहेको इसाई धर्मावलम्बी समूहहरुलाई हिन्दू पक्षधरबाट आक्रमण हुनसक्ने संकेतहरु देखिएको परिप्रेक्ष्यमा धार्मिक सहिष्णुता कायम गर्नको निमित्त पहलकदमी बढाउनु पर्ने देखिन्छ ।
    • सुनसरी, मोरङ, झापा, उदयपुर, धनुषा, सर्लाही‚ महोत्तरी, बाँके लगायतका जिल्लाहरुमा हिन्दू, क्रिश्चियन, मुस्लिम समुदायबीच उत्पन्न भइरहेको तिक्तता, कोशी प्रदेशमा पहिचानवादी पक्षधरको आक्रोशपूर्ण गतिविधि तथा नेपालमा जातीय, धार्मिक सहिष्णुतामा खलल पुर्‍याई आफ्नो अभिष्ट पूरा गर्ने पक्षको रणनीतिक योजना तर्फ समेत गम्भिर भई सामाजिक सद्‍भाव, धार्मिक सहिष्णुता कायम गर्न सबै पक्ष लाग्नुपर्ने र सबै सुरक्षा निकायले उच्च सतर्कता अपनाउँदै जानुपर्ने वाञ्छित देखिन्छ ।
    • नेपालमा हिन्दू धर्ममाथिको चौतर्फी अतिक्रमण बढेको भन्दै राजावादी तथा हिन्दू धर्म सम्बद्ध समूहहरुले गतिविधि बढाउदै आएको परिप्रेक्ष्यमा योजनाबद्ध रुपमा नै इशाई समूहद्वारा गैरसंवैधानिक एवं गैह्रकानुनी रुपमा धर्म परिवर्तन गराउने गतिविधि बढ्दै जानुले आगामी दिनमा धार्मिक सहिष्णुतामा खलल पुग्न गई शान्ति सु-व्यवस्थामा चुनौती उत्पन्न हुनसक्ने ।
    • भारत‚ पाकिस्तान‚ बंगलादेश‚ साउदी अरब‚ कुबेत लगायतका मुस्लिम बहुल राष्ट्रबाट धार्मिक टोली मुस्लिम धर्म प्रचारप्रसार, धार्मिक प्रवचन एवं धार्मिक गतिविधिका नाममा सक्रियता बढाउनु शंकास्पद देखिएकाले त्यस्ता गतिविधि प्रति सजगता तथा निरन्तर निगरानी राख्नु पर्ने देखिन्छ ।
    • धर्मान्तरणमा बढोत्तरी, धर्मान्तरण विरोधी गतिविधि, चर्च, मण्डलीको संख्यामा निरन्तर वृद्धि, विदेशी मौलाना, जमात टोलीको बढ्दो उपस्थिति, मस्जिद, मदरसाहरुको संख्या उल्लेख्य वृद्धि, हिन्दू समूहहरुको कट्टरभाव, प्रतिशोधपूर्ण प्रतिक्रिया लगायतले तराईका क्षेत्रमा धार्मिक विषय थप पेचिलो बन्दै गएको हुँदा सबै पक्ष सजग हुनुपर्ने ।
    • हिन्दू र मुस्लिम समुदायबीच समय समयमा परम्परागत धर्म‚ संस्कृति‚ सामाजिक रितिरिवाज‚ विवाह‚ दाहसंस्कार स्थल आदिका नाममा विवाद/झडप समेतका घटनाले शान्ति सुरक्षामा खलल पुग्ने गरेको परिप्रेक्ष्यमा हिन्दू‚ मुस्लिम सम्प्रदायबीच आपसी सद्‍भाव र सह-अस्तित्व स्वीकार गर्दै एक आपसमा धार्मिक सहिष्णुता कायम गराउन स्थानीय निकाय‚ राजनीतिक दलहरु समेतले स्थानीय प्रहरी प्रशासनको सहकार्यमा पहल कदमी वढाउनु पर्ने देखिन्छ ।

Leave a comment