भारतमा नक्कली रामग्राम स्तूपको प्रचार

पृष्ठभूमीः

भारतले लुम्बिनी भारतमा रहेको प्रचार प्रसार गर्दैआएको सर्न्दभलाई लिएर नेपालमा पटक-पटक आवाज उठनुका साथै भारतको विरोध समेत हुनेगरेकोमा पछिल्लो समय भारत उत्तर प्रदेश को महाराजगञ्ज जिल्लाको जिल्ला प्रशासन कार्यालयको आधिकारिक वेभसाइटमा रामग्राम स्तूप सोही जिल्लाको सोहगीबरवा जंगलमा रहेको उल्लेख गर्नुका साथै हिन्दुस्तान पत्रिकाले महाराजगंज जिल्लाको बनर्सिहा कला देवदहमा गौतम बुद्धको अस्तु उत्खनन कार्य पुन: आगामी डिसेम्बरबाट सुरु हुने समाचार प्रकाशित भएसँगै नेपालका बौद्ध अनुयायी तथा नवलपरासी(पश्चिम)का स्थानीयहरुले उक्त भारतीय प्रचारप्रसारको विरोध गर्दै सरकारले कुटनीतिक पहलबाट त्यस्ता भ्रमपूर्ण कार्य रोक्नुपर्ने जनाएका छन् ।

विभिन्न धार्मिक लेख, आत्मवृतान्त तथा पुरातत्वविदका अनुसार गौतम बुद्धको अस्तु धातु रहेको स्थल हालको नवलपरासी(पश्चिम)को रामग्राम नगरपालिका-७ स्थित उजैनी भएतापनि भारतीय पक्षले गलत प्रचार गर्दै विहारको महाराजगंज जिल्लामा उत्खनन कार्य अगाडि बढाई रहेकोले रामग्राम स्तूप संरक्षण तथा पर्यटन विकास संस्था नवलपरासीस्थित नागरिक समाज, लुम्बिनी विकास कोष, समाजसेवी लगायत स्थानीयहरुले पत्रकार सम्मेलन, ज्ञापनपत्र प्रस्तुत तथा छलफललाई जारी राखेका छन् ।

रामग्राम स्तूपको वास्तविकता र महत्व:

लुम्बिनीमा जन्मेका बुद्धको जीवन नेपाल र भारतका विभिन्न गाउँ शहरहरुमा धर्म प्रचार गरेर बित्यो । उनको परिनिर्वाण हाल भारतको कुशीनगरमा भएको थियो । बौद्ध ग्रन्थहरुको अनुसार उनको महापरिनिर्वाण भएपछि शवको दाह संस्कारपश्चात केही मोतीका दानाजस्ता अस्तुधातु बाँकी भए । दाहसंस्कारमा उपस्थित त्यसबेलाका सबै बौद्ध राज्यहरु ती अस्तु धातुका दानाहरु आफ्नो देशमा लान पाउनुपर्ने मागसहित युद्ध नै गर्न तम्सिए र पछि उनीहरुले एक जना द्रोण नाम गरेका पण्डितको सहायताले त्यसलाई आठ भागमा विभाजन गरेर लिएको इतिहास छ । त्यसलाई तत्कालीन मगध, बैशाली, कपिलवस्तु, अलकप्प, कोलीयग्राम, वट्ठदिप, पावा र कुशिनगरका राजाहरुले लगे । उनीहरुले भगवान बुद्धप्रतिको श्रद्धाअनुरुप आआफ्नो स्थानमा ती अस्तु धातु लगेर विशाल स्तुप बनाएर बुद्धधर्मलाई निरन्तरता दिए । त्यसमध्ये कोलियग्रामका राजाले त्यस अस्तु धातुलाई राखेर बनाएको स्तुप नै रामग्राम स्तुप हो । पछि इशापूर्व २६८ देखि २३२ सम्म शासन गरेका मौर्य सम्राट अशोकले बुद्धधर्मको महत्व बुझी यसलाई सबै देशहरुमा प्रचार गर्ने भनेर ती सबै स्तूपबाट अस्तुधातु निकाली त्यसबाट ८४ हजार स्तुप बनाउन लगाई सम्पूर्ण भारत वर्षमा स्थापना गर्ने योजना बनाए । बौद्ध ग्रन्थहरुमा उल्लेख भएअनुसार सम्राट अशोकका दुतहरुले रामग्राममा अस्तु निकाल्न आउँदा त्यहाँका नागहरुले रक्षा गरेको कारण अस्तु सुरक्षित रहयो ।

इशाको पाँचौं शताब्दीमा फाहियान र सातौं शताब्दीमा हुयेनसाङ जस्ता यात्रीहरुले यस तीर्थस्थलको भ्रमण गरेको ऐतिहासिक दृष्टान्त पाइन्छन् । उनिहरुको यात्रा वृत्तान्तमा कोलीय गणराज्यको राजधानी देवदह, रामग्रामदेखि पूर्व र दक्षिण दिशामा ८ माईलको दुरीमा रहेको भगवान् गौतम बुद्धको अस्तुधातु रहेको स्थल नै रामग्राम स्तूप रहेको उल्लेख छ । सन् १८९९ मा एसियाटिक सोसाइटी अफ बेङ्गालका इतिहासकार डा. डब्लु होयेले रामग्राम स्तूप पत्ता लगाएका थिए । पछि सन् १९६४ मा यो नै रामग्राम स्तुप हो भन्ने प्रमाणित भयो । यहाँ जमिनको सतहमा सन् १९९७ तथा १९९९ मा भौतिक सर्भेक्षण गरिएको थियो । यसबाट स्तुपको पूर्व र उत्तरमा चतुष्कोणीय विहारहरुको अवशेष भएको निक्र्यौल गरिएको थियो । पछि पुरातत्व विभागका शुक्रसागर श्रेष्ठले सन् १९९९ तथा २००४ को बिचमा उत्खनन् पनि गरे । त्यसबाट यस क्षेत्र मौर्यकाल अर्थात् ईशा पूर्व ३२२ देखि १८५ को बिचमा तथा गुप्तकाल अर्थात् ईशाको ३२० देखि ईशाको ५५० को वरिपरी विकसित भएको निष्कर्ष निकालिएको थियो । हाल स्तूपको रुपमा करिब १० फिट अग्लो तथा २३.५ मिटर ब्यास भएको घाँसले ढाकिएको एउटा ढिस्को मात्र देखिन्छ ।

स्तुपको वर्तमान अवस्था:

जिल्लाको सदरमुकाम परासीदेखि दक्षिण महेशपुर सडकको तीन किमी टाढा उजैनी गाउँबाट पूर्वतर्फ झरही खोलाको किनारमा समतल मैदानमा देखिने घाँसे थुम्को नै रामग्राम स्तूप हो । वरिपरी घुम्नलाई काठको फलेकको र्याम्प बनाइएको छ भने पूजा पाठ गर्ने एउटा ठाउँ पनि बनाइएको छ । यसबाहेक प्रवेशद्वारको दुबै तिर मेचहरु सहितको सानो बगैंचाहरु बनाइएको छ । दुई जना सुरक्षा गार्डले यस पुरातात्विक क्षेत्रमा सुरक्षा प्रदान गर्दै आएको छन् । रामग्राम स्तुप, विश्वकै एक मात्र भगवान बुद्धको अस्तु धातु अविछिन्न रुपमा राखिएको पवित्र स्थल हो । विश्वभरका बौद्ध धर्मावलम्बीहरु यहाँ एकमात्र मौलिक रुपमा अस्तुधातु भएको पवित्र स्तूप भनेर पूजा आराधना गर्न आउने गरेका छन् । देश विदेशबाट तीर्थयात्रीहरु यहाँ आएर सामुहिक रुपमा बुद्धपूजा तथा परित्राण पाठ गर्ने गरेका छन । रामग्राम स्तूपको संरक्षण र विकासमा ध्यान दिन स्थानीयले सरकारसँग माग गर्दै आएका छन ।

चरणबद्ध रुपमा भएका गतिविधिहरु :

  • कार्तिक १० गतेः

नागरिक समाज, नवलपरासी(पश्चिम) का अध्यक्ष राधेश्याम सिंह सैथवार सहित ४/५ जनाले जिल्ला प्रशासन कार्यालयमा उपस्थित भई भारतले नक्कली रामग्राम स्तूप खडा गरी भारतीय भूमिमा रहेको भनी प्रचारप्रसार गरिरहेको प्रति घोर आपत्ति जनाउँदै यस विषयमा नेपाल सरकारले कूटनीतिक माध्यमबाट समस्या निराकरण गर्नु पर्ने माग राखी प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालमार्फत सम्माननीय प्रधानमन्त्री, नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय एवं लुम्बिनी बिकास कोषका अध्यक्ष र माननीय मुख्यमन्त्री समक्ष ध्यानाकर्ण पत्र बुझाएको थियो ।

  • कार्तिक १२ गतेः

रामग्राम स्तूपबारे भारतले गरिरहेको गलत प्रचार रोक्न माग गर्दै रामग्राम स्तुप संरक्षण तथा पर्यटन बिकास संस्थाले नवलपरासी(पश्चिम) को रामग्राम नगरपालिका-७ उजैनी स्थित रामग्राम स्तुपमा पत्रकार सम्मेलन गरेको थियो ।

  • कार्तिक १३ गतेः

जिल्लास्थित जिल्ला समन्वय समितिमा समितिका प्रमुख भगौती यादव (रुदल) को अग्रसरतामा लुम्बिनी बिकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराई, प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याल, नागरिक समाज नवलपरासी (पश्चिम) का अध्यक्ष राधेश्याम सिंह सैथवार, समाजसेवी लगायत सरोकार निकायहरुबीच छलफल भएको ।

  • कार्तिक १६ गतेः

रामग्राम स्तूपमा कार्तिक १५ गतेदेखि उत्खननका लागि भू-भौतिक सर्वेक्षण (जियोफिजिक्स सर्भे) काम सुरु भएको । बुद्धको अस्तुधातु रहेको प्राचिन रामग्राम स्तुपको करिव २० वर्षपछि फ्रान्सको ओरेन्टल कल्चरल हेरिटेज साइट प्रोटेक्सन एलाइन्सको आर्थिक सहयोगमा दोस्रो पटक उत्खननको काम भईरहेको । नेपाल सरकार पुरातत्व विभाग, लुम्बिनी बिकास कोष र बेलायतको दुरह्याम विश्वविद्यालय एवं राष्ट्रिय तथा अन्तराष्ट्रिय बिज्ञहरुको संलग्नतामा स्तूपको उत्तर पश्चिममा रहेको खुल्ला चौरमा उक्त उत्खनन कार्य सुरु भएको र आगामी नोभेम्बर २८ सम्म जारी रहने बुझिएको ।

सन् २०१८ र २०१९ मा गरिएको जियोफिजिक्स सर्भेका क्रममा स्तूपको उत्तर पश्चिमतर्फको खाली जमिनमा ठूलो क्षेत्रफलमा फैलिएको बिहार, पोखरी लगायत बुद्धकालीन सामाग्रीहरु रहेकोमा सोको वास्तविक अवस्था पत्ता लगाउन उत्खनन कार्य सुरु गरिएको । लुम्बिनी उत्खननमा संलग्न दुरहाम विश्व विद्यालयका प्रोफेसर डा. रविन कनिङघमको नेतृत्वमा पुरातत्व विभागका पुरातत्वविद भाष्कर ज्ञवाली, लुम्बिनी बिकास कोषका पुरातत्वविद हिमाल उप्रेती लगायत करिव १० जनाको टोली उक्त उत्खननमा संलग्न रहने बुझिएको ।

निश्कर्ष:

  • लामो समयदेखी सरकारको प्राथमिकतामा नपर्दा रामग्राम स्तूप ओझेलमा पर्दै आएको अवस्थामा भारतीय पक्षले बुद्धको अस्तु धातु अविछिन्न रुपमा राखिएको पवित्र स्थल आफ्नो भूमिमा रहेको दाबी गरि प्रचार प्रसार गर्नु चिन्ताको विषय रहेको,
  • विश्व सम्पदा सूचिमा सूचीकृत प्रक्रियामा रहेको प्राचीन रामग्राम स्तुपको विकास, संरक्षण र प्रचारप्रसारमा ध्यान नपुग्दा स्तुपको महत्व ओझेलमा परेको,
  •  भारतसँग सम्बन्धीत जिल्ला तथा मन्त्रालय तहबाट कूटनीतिक पहल गरी अनावश्यक प्रचार नगर्न अनुरोध गर्नुपर्ने,
  •  भारतले आफ्नो मुलुकमा गरिरहेको उत्खनन र प्रचार प्रसारको जानकारी/सूचना संकलन गरी वास्तविकताको आधारमा आवश्यक  कूटनीतिक पहल गर्न तथा रामग्राम स्तूपको प्रसारमा जोड दिनुपर्ने ।

Leave a comment