शिख समुदायको खालिस्तान आन्दोलन, भारतद्वारा नियन्त्रणको प्रयत्न

पृष्ठभूमि:

गुरु नानकले १५औँ शताब्दीमा पञ्जाबमा शिख धर्मको स्थापना गरेका थिए ।  हाल यो धर्मका विश्वभर करिव दुई करोड ५० लाख अनुयायी रहेका छन् । भारतमा शिखहरूले मुगल र पछि ब्रिटिसहरूको दमनको सामना गर्नुपर्‍यो । सन् १८४९ मा अंग्रेजसँगको हारपछि शिख साम्राज्य केही टुक्रामा विभाजित भयो । ब्रिटिस साम्राज्यको पतन अघिदेखि नै अलग शिख राज्यको माग उठेको थियो । अलग शिख राज्यको माग गर्नेमध्ये सबैभन्दा पहिलो समूह शिरोमणी अकाली दल थियो । सन् १९४७ मा यो माग आन्दोलनमा बदलियो । भारतलाई ब्रिटिस उपनिवेशबाट मुक्त गराउन हिन्दु, मुस्लिम र शिख समुदायले मिलेर संघर्ष गरे पनि स्वतन्त्रतापछि हिन्दु बहुल देश भारत र मुस्लिम बहुल देश पाकिस्तान बने ।

खालिस्तान आन्दोलन:

ब्रिटिस साम्राज्य को पतन पछि शुरू भएको खालिस्तान आन्दोलन एक शिख पृथकतावादी आन्दोलन थियो जसको उद्देश्य शिखहरुको लागी एक अलग सार्वभौम राष्ट्र खालिस्तान (खालसे भूमि) को निर्माण गर्नु थियो ।  खालसाको अर्थ शुद्ध र खालिस्तानको अर्थ शुद्ध स्थान हो । खालिस्तान को प्रस्तावित राष्ट्रमा पञ्जाब, हिमाचल प्रदेश, दिल्ली र चण्डीगढ समेतका भारतीय राज्यहरु शामिल थिए । सन् १९२९ मा ‘खालिस्तान आन्दोलन’ विजारोपण भएको पाईन्छ । तत्कालिन अवस्थामा भारतको लाहोरमा कांग्रेस भेलामा मोतीलाल नेहरुले ‘पूर्ण स्वराज’ को प्रस्ताव राखेकोमा तीन खाले समूहले उक्त प्रस्तावको विरोध गरेका थिए । विरोध गर्नेहरुमा मोहम्मद अली जिन्नको अगुवाइमा रहेको मुस्लिम लिग, डा. भीमराव अम्बेडकरले अगुवाइ गरेको दलितहरुको समूह र गुट मास्टर भनिने तारा सिंहको अगुवाइमा रहेको शिरोमणि अकाली दल रहेका थिए । त्यस बेला तारा सिंहले शिखहरुका लागि अलग राज्यको माग गरेका थिए । उनको त्यही मागमा आधारित भएर १९४७ मा ‘पञ्जाबी सूबा’ नामक आन्दोलन सुरु भएको थियो । भारत स्वतन्त्रताको समयमा पञ्जाबलाई दुई हिस्सामा विभाजन गरियो । स्वतन्त्र भारतमा बनेको राज्य पुनर्गठन आयोगले शिरोमणि अकाली दलले माग गरिरहेको भाषिक आधारमा अलग शिख सूबा (प्रदेश) लाई अस्वीकार गरेको थियो । सन् १९४० मा पहिलो पटक खालिस्तानको नाम “खालिस्तान” नामक पम्फलेटमा उल्लेख गरिएको पाईएतापनि सन् १९४७ पछि आप्रवासी शिखहरुको आर्थिक र राजनैतिक सहयोग र पाकिस्तानको समर्थनमा भारतीय पञ्जाब राज्यमा खालिस्तान आन्दोलन फस्टायो र सन् १९८० को दशकसम्म आन्दोलन चरम सीमामा पुग्यो ।

सन् १९४१ को गणनामा पञ्जावमा बसोवास गर्ने मध्ये मुस्लिम ५३ प्रतिशत, हिन्दू ३० प्रतिशत र सिख १५ प्रतिशत को हाराहारीमा रहेका थिए । सोही कुरालाई मध्यनजर गरेर सिख समुदायले United States लाई जोड दिएका थिए । भारत आजादीको नजिक पुग्न लागेको समय सन् १९४६ मा जवाहरलाल नेहरुले भारतको उत्तरतिर शिखहरु आजादीले बस्ने स्थान होस् भनेर उद्‍घोष गरेका थिए ।

ब्रिटिस साम्राज्यको पतनपश्चात पन्जावको ६२ % भाग पाकिस्तानमा गयो जसले गर्दा पाकिस्तान तिर रहेका शिखहरु भारततर्फ आउँदा परिस्थिति फेरियो र हालको हरियाणा, पन्जाव र हिमाञ्चल मिलेर पन्जाव प्रदेश बन्यो । जसलाई भारतले अकाली दल बढेको साथै, अलग राज्य माग गर्न सक्ने देखिएकाले सन् १९५६ मा पटियाला र इस्ट पन्जाव युनियन हटाएर भाषागत स्टेट बनाइयो जसको कारणबाट शिखहरुको माग सम्बोधन भएन । सन् १८६५ भारत-पाकिस्तान लडाईमा शिखहरुले भारतमा धेरै राम्रो काम गरेपश्चात पन्जावलाई अलग State को सुविधा भनेर १९६६ मा हरियाणा र हिमाञ्चल प्रदेश हटाइयो र पन्जाव अलग्गै State बनाइयो ।

हाल एक अर्ब ४० करोड कुल जनसंख्या रहेको भारतमा शिख समुदायको हिस्सा दुई प्रतिशतभन्दा कम रहे पनि उत्तरी राज्य पञ्जाबमा भने शिख समुदाय बाहुल्यता रहेको छ । भारतभित्र खालिस्तान समर्थकहरू थोरै भए पनि यो आन्दोलनले विश्वव्यापी डायस्पोरा, विशेषगरी क्यानडा, बेलायत र अस्ट्रेलियामा केही शिखहरूबाट सहानुभूति पाइरहेको छ । ती शिखहरूको एउटा सानो तर प्रभावशाली संख्याले खालिस्तानको अवधारणालाई समर्थन गर्छ । उनीहरूले अलग खालिस्तान राज्य स्थापना गर्ने सहमति जुटाउन समय–समयमा जनमतसंग्रह पनि गर्ने गरेका छन् ।

विद्रोह:

सन् १९८४ मा सुरु भएको खालिस्तान  विद्रोह सन् १९९५ सम्म चलेको थियो । खालिस्तान पक्षधरले २९ अप्रिल, १९८६ मा भारतबाट एकतर्फी रूपमा स्वतन्त्रता घोषणा गरे र १९९३ मा ‘अनप्रिजेन्टेड नेशन्स एन्ड पिपुल्स अर्गनाइजेसन (यूएनपीओ) मा सामेल भए । शिखहरुलाई सेना प्रमुख बन्न नदिएको र राज्यको प्रमुख कार्यकारीमा जान नदिएको भन्दै भिन्डरले एक फाइटर सेना खडा गर्‍यो जसको मुख्यालय गोल्डन मन्दिर भित्र राखियो । चरमपन्थी  शैलीको यस विद्रोहलाई दवाउनको लागी भारत सरकार र सेनाले अपरेशन ब्लू स्टार, अपरेशन वुड रोज, अपरेशन ब्ल्याक थन्डर र अपरेशन ब्ल्याक थन्डर २ सञ्चालन गरेपश्चात चरमपन्थ धेरै हदसम्म समाप्त भयो तर धेरै जनधनको क्षती भएको विषयलाई लिएर भारतीय सेनालाई मानव अधिकार उल्लङ्घनकर्ताको आरोप लगाइयो । भारी पुलिस र सैन्य कारबाही र यस आन्दोलनसंग एकथरि शिख समुदायको निराशाको कारण आन्दोलन कमजोर हुन थाल्यो जसको परिणाम स्वरुप उक्त आन्दोलन आफ्नो लक्षित उद्देश्य सम्म पुग्न असफल बनि समाप्त भएको थियो ।

अपरेशन पश्चातको परिस्थिति:

१० जुन, १९८४ मा अपरेशन ब्लु स्टारअन्तरगत तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले भारतीय सेनालाई अमृतसरस्थित स्वर्ण मन्दिरमा घुसेर शिख पृथक्तावादीहरूलाई मार्न आदेश दिइन् । त्यस अप्रेसनले शिख समुदायमा ठूलो आक्रोश पैदा गर्यो ।  अपरेशन समाप्ती हुँदासम्म ३ हजार  बढी व्याक्तिको हत्या भएकोमा अधिकांश शिख समुहका सदस्य रहेका थिए । अपरेशनमा निर्दोष शिखको हत्या भएको जनाउदै अमरिन्दर सिंहसहित केही शिख नेताले कांग्रेसबाट राजीनामा दिनुका साथै खुशवन्त सिंहसहितका लेखकले सरकारले दिएको पुरस्कार फिर्ता गरेका थिए । अपरेशन ब्लु स्टारको चार महिनापछि ३१ अक्टोबर, १९८४ मा दुई शिख युवाले गोली हानी प्रधानमन्त्री इन्दिरा गान्धीको हत्या गरे । इन्दिरा गान्धीको हत्यापछि दिल्लीमा भएको शिखविरोधी हिंसामा ८ हजार भन्दा बढी शिखको हत्या भयो । त्यसको एक वर्षपछि २३ जुन, १९८५ मा क्यानडामा रहेका खालिस्तान समर्थकले एयर इन्डियाको विमानमा बम राखेर उडाउँदा ३२९ जनाको मुत्यु भयो । शिख आन्दोलनकारीहरुले अपरेशन ब्लुस्टारको नेतृत्व गरेका पूर्वसेना प्रमुख जनरल एएस वैद्यको १० अगस्ट १९८६मा पुणेमा हत्या गरिदिए । ३१ अगस्ट, १९९५ मा आत्मघाती हमलाकारीले विस्फोट गराउँदा पञ्जाबका मुख्यमन्त्री बेअंत सिंहको मृत्यु भयो ।

शिखहरूको विषयलाई लिएर अन्तराष्ट्रिय जगतमा भारतको दबाव:

शिखको उल्लेख्य जनसङ्ख्या भएका क्यानडा, अस्ट्रेलिया र यूकेका सरकारलाई भारतले दबाव दिँदा कूटनीतिक तनाव बढ्ने गरेको छ । छुट्टै राज्यको मागसँग सम्बद्ध विषयलाई भारत सरकारले “शिख अतिवाद” को सङ्ज्ञा दिंदै सोको निमन्त्रणामा उल्लिखित राज्यले सहयोग नगरेमा द्विपक्षीय सम्बन्ध बिग्रिने भनि चेतावनी पनि दिँदैआएको छ । भारतमा खालिस्तान समर्थक अमृतपाल सिंहमाथि धरपकड सुरु भएको समयदेखि बेलायत, अमेरिका र क्यानडा सहितका देशमा खालिस्तान पक्षधरले आन्दोलन उच्च बनाउँदैआएका छन् । अस्ट्रेलियाका अधिकारीहरूले खालिस्तानवादीहरूले हिन्दू मन्दिरहरूमा गरेको तोडफोडबारे अनुसन्धान गरिने बताएपनि उनीहरूले स्वतन्त्र राज्यबारे उनीहरूको अभिव्यक्ति रोक्न नसकिने जनाएका छन् । अर्कोतर्फ खालिस्तान आन्दोलनको विरोध नगरेकोमा भारतले क्यानडाको खुलेरै आलोचना गरेको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले जारी हिंसा बन्द गर्ने बताए पनि “विदेशी हस्तक्षेप” को विरोध गरेका छन् । यस्तै गत मार्चमा लन्डनस्थित भारतीय उच्चायोगबाहिर विरोधप्रदर्शनहरू भएपछि त्यहाँ विवाद उत्पन्न भयो । त्यतिबेला भिडले ‘खालिस्तान’ लेखिएका पहेँलो रङ्गका ब्यानरहरू देखाएका थिए । भारतको कडा विरोधका बाबजुद आन्दोलनकारीले लण्डनस्थित उच्चायोगमा भारतीय झण्डा हटाएर खालिस्तानको झण्डा राख्ने कोसिस गरेका थिए ।

भारत–क्यानडा बीचको चिसो सम्बन्ध :

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले क्यानडेली नागरिक तथा पश्चिमी क्यानडाका प्रमुख शिख नेता हरदीप सिंह निज्जरको २०२३ जुन १८ मा ब्रिटिस कोलम्बियाको सरेस्थित शिख मन्दिरबाहिर दुईजना नकाबपोस बन्दुकधारीद्वारा गोली हानेर भएको हत्यामा भारतीय संलग्नताको ‘विश्वसनीय आरोप’ माथि क्यानडाले अनुसन्धान गरिरहेको बताएसँगै दुई देशले एकअर्काका कूटनीतिज्ञलाई निष्कासन गरेका छन् भने नयाँदिल्ली र ओटावाबीचको सम्बन्ध थप चिसिएको छ । पछिल्लो समय बैश्विक जगतमा भारतको गुप्तचर संस्था रअलाई इजरायलको मोसाद बन्न खोजेको भनि आरोप लाग्न थालेको छ । क्यानडाले आफ्नो भूमिमा भएको एक शिख अभियन्ताको हत्यामा भारतको संलग्नता रहेको आरोप लगाएपछि ओटावा र नयाँदिल्ली दुवैले एकअर्काका वरिष्ठ कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्कासित गरेका छन् । क्यानडाका विदेशमन्त्री मेलानी जोलीले देश निकाला गरेको व्यक्ति भारतीय दूतावासमा कार्यरत भारतीय खुफिया एजेन्सीका प्रमुख पवनकुमार राय रहेको बताएकी छन् । जवाफमा भारतको विदेश मन्त्रालयले असोज ०२ गते मंगलबार विज्ञप्ति मार्फत भारतस्थित वरिष्ठ क्यानेडियन कूटनीतिज्ञलाई आगामी पाँच दिनभित्र भारत छाड्न आदेश दिएको थियो । भारतको भिसा, पासपोर्टलगायत कन्सुलर सेवा प्रवाह गर्ने बीएलएस इन्टरनेसनलले आफ्नो वेबसाइटमा राखेको सूचनामा असोज ०३ गते बुधबारदेखि अर्को सूचना नआएसम्मको लागि भन्दै सञ्चालनसम्बन्धी कारण देखाएर क्यानडेली नागरिकको लागि भिसा सेवा बन्द गरेको जनाएको छ ।

ट्रुडोको टिप्पणीपछि क्यानडाका शिख समुदायका दुई प्रमुख समूह ‘ब्रिटिस कोलम्बिया गुरुद्वारा काउन्सिल (बिसिजिसी)’ र ‘ओन्टारियो गुरुद्वारा कमिटी(ओजिसी)’ले क्यानडा सरकारलाई ‘भारतसँगको सबै गुप्तचरी, अनुसन्धान र अभियोजन सहकार्य तत्काल स्थगन गर्न’ आग्रह गरेका छन् । क्यानेडियन प्रहरीले निज्जरको हत्यामा संलग्न कसैलाई पनि पक्राउ गरेको छैन । तर, अगस्टमा प्रहरीले एक विज्ञप्ति जारी गर्दै तीनजना शंकास्पद व्यक्तिमाथि अनुसन्धान गरिरहेको बताएको थियो । सोहिबीचमा पञ्जाबबाट भागेर क्यानडामा बसेका खालिस्तान समर्थक सुखदुल सिंह उर्फ सुक्खा दुनुकेको क्यानडाको पिनिपेग शहरमा गोली हानी हत्या भएको छ । भारतको एनआईएको वान्टेड सूचीमा समावेश सुक्खा खालिस्तानी नेता अर्शदीप सिंह उर्फ अर्श दालाको दाहिने हात थिए । क्यानडामा बसेर भारतमा रहेका आफ्ना सहयोगीमार्फत अपरेशन चलाइरहेको भनि आरोप लाग्ने गरेको सुक्खा दुनुकेविरुद्ध  भारतमा सातवटा फौजदारी मुद्दा दर्ता भएका थिए ।

भारतको अस्वीकारोक्ती:

भारतको विदेश मन्त्रालयले विज्ञाप्तिमार्फत क्यानडाका विदेशमन्त्री जस्टिन ट्रुडोले संसदमा निज्जरको हत्यालाई भारतसँग जोडेको भनाइको प्रत्यक्ष खण्डन गर्दै क्यानडामा भएको हिंसाको घटनामा भारत सरकारको संलग्नताबारे लगाइएका आरोपहरू “निरर्थक र प्रेरित” भएको जनाउँदै आधारहीन आरोपहरू खालिस्तानी आतङ्कवादी र चरमपन्थीहरूबाट ध्यान मोड्नका लागि गरिएको, भारतको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताका लागि खतरा मानिएका खालिस्तानी आतङ्ककारी र अतिवादीहरूलाई क्यानडाले  शरण दिएको, यी विषयमा क्यानडा सरकारले लामो समयदेखि कारबाही नगर्नु आफ्ना लागि चिन्ताको विषय बनेको जनाउँदै क्यानडाको माटोबाट सञ्चालित भारतविरोधी गतिविधिविरुद्ध तुरुन्त र प्रभावकारी कानुनी कारबाही गर्न क्यानडा सरकारसंग माग गरेको छ । यद्दपी भारतको गृह मन्त्रालयको आतंकवादीको सूचीमा निज्जरको नाम पनि सूचीकृत थियो । सन् २०२० मा भारतीय राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआइए)ले उनीमाथि ‘खालिस्तान‘को पक्षमा विश्वभरका शिख समुदायलाई अलगावको पक्षमा मतदान गर्न, भारत सरकारविरुद्ध आन्दोलन गर्न र हिंसात्मक गतिविधिहरू गर्न उक्साउने जस्ता अराजक क्रियाकलापमार्फत शिख समुदायलाई कट्टरपन्थी बनाउने प्रयास गरेको आरोप लगाएको थियो ।

क्यानडा र भारतबीचको आर्थिक पक्षको तुलनाः

पछिल्लो समूह भारत र क्यानडाबीच विकसित विवादको सन्दर्भमा G7 समूहका UK‚ USA‚ Australia‚ Netherland ले Canada को साथ दिएको देखिन्छ । आर्थिक तथ्याङ्कका आधारमा तुलना गर्दा जिडिपी बाहेकका अधिकांश अन्य सूचकहरुमा क्यानडा अगाडि रहेको छ । भारतको जिडिपी ३ ट्रिलियन US$ ‚ सय मिलियन डलरको निर्यात व्यवसाय‚ २ हजार US$ को प्रतिव्यक्ति आय रहेको छ भने क्यानडाको  २.१ ट्रिलियन डलरको जिडिपी‚ ६५७ विलियन डलरको निर्यात व्यवसाय‚ ६० हजार US$ नजिकको प्रतिव्यक्ति आय रहेको छ । यस्तै प्रविधि‚ climate financing‚ आर्थिक सहयोग गर्ने डोनर कन्ट्रिको रुपमा क्यानडा भारतभन्दा निकै अगाडि रहेको देखिन्छ ।

क्यानडाबाट भारत तथा नेपालमा फर्टिलाइजर(मलखाद)‚ इन्धन‚ खाद्यान्न‚ तरकारी‚ कागज‚ आइरन स्टिल‚ बहुमूल्य धातु‚ आदिहरु आयात हुने गरेकोमा खनिज ३६%‚ कागजका सामग्री १५%‚ तरकारीजन्य वस्तुहरु ११%‚ अन्य धातुहरु १०%‚ रसायनिक पदार्थ ७%‚ बहुमुल्य धातुहरु ७%‚ मेसिनरी सामग्री ६%‚ उपकरण ६% र अन्य सामग्रीहरु २% का अनुपातमा आयात हुने गरेको छ ।

खालिस्तानि मुभमेन्टको नेपालमा प्रभाव:

नेपालको जनगणना २०७८ को तथ्याङ्क अनुसार शिख धर्मअवलम्वीहरुको जनसङ्ख्या १४९६ जना र कुल जनसङ्ख्याको ०.०१ प्रतिशत रहेको देखिन्छ । खालिस्तानि मुभमेन्टमा संलग्न शिखहरुले भारत लगायत क्यानडा, वेलायत, अस्ट्रेलिया लगायतका देशमा समयसमयमा भारतविरोधी र शिख धर्म प्रवर्धनका लागी गतिविधि गर्दै आएको भएपनि नेपालमा भने अल्पसख्यक रुपमा रहेका शिख धर्मावलम्विहरुले सो प्रकारका गतिविधिमा प्रत्यक्ष तथा परोक्ष संग्लग्नता देखाउने तथा सो अभियानलाई सहयोग पुर्याउने सम्भावना रहेको देखिदैन । यद्दपी उक्त मुभमेन्ट विकासित हुदै गएमा भारतिय शिख धर्मावलम्वी पक्षधरले नेपाल लगायतका छिमेकी देशमा रहेका शिख धर्मावलम्वीहरुलाई प्रभावित पार्नसक्ने जोखिमलाई भने नकार्न सकिदैन । 

हाल भारतमा शिख धर्मावलम्वीहरुको प्रत्यक्ष वा परोक्ष रुपमा हिन्दू स्वयंसेवक संघसँग दुस्मनी रहेको र  नेपालमा समेत हिन्दूधर्मावलम्वीहरु उल्लेख्य मात्रामा रहेको परिप्रेक्ष्यमा क्यानडा, भारतबीचको विकसित मनमुटावको विषयमा नेपाल भारतको पक्षमा उभिएमा क्यानडाद्वारा नेपाललाई प्रदान गर्ने सहायता घट्न सक्ने देखिन्छ ।

यस्तै हाल भारत र क्यानडाले एकअर्को देशका नागरिकहरुलाई समेत आवगमनमा निषेध गरेको परिप्रेक्ष्यमा उक्त मनमुटावको अवस्था थप जटिल बनेमा क्यानडाद्वारा नेपालीहरुलाई समेत हिन्दु समुदाय भनी भिसामा कडाइ गर्ने‚ हाल सञ्चालित तथा भविष्यमा प्राप्त हुने प्रोजेक्टमा सहयोग नहुने‚ भारतसँग पश्चिमा देशहरुले सम्बन्ध बिगारेमा प्रत्यक्ष असर नेपाललाई समेत पर्ने तथा नेपाललाई समेत वैदेशिक नीति तथा कुटनीतिको सन्तुलित अभ्यास गर्न कठिन पर्ने आँकलन गर्न सकिन्छ ।

Leave a comment